Facebook Boost ले व्यवसायलाई कसरी धेरै ग्राहकसम्म पुग्न र बिक्री बढाउन मद्दत गर्दछ

परिचय

हामीमध्ये धेरैले "Facebook Boost" भन्ने शब्द त धेरै पटक सुनेका हुन्छौँ । साथै, "फेसबुक मोनिटाइज  भएपछि पैसा कमाउन सकिन्छ" भन्ने कुरा पनि बारम्बार सुन्न पाइन्छ। तर कहिल्यै सोच्नुभएको छ? फेसबुक बुस्ट भनेको वास्तवमा के हो? यसको आवश्यकता किन पर्छ? यसले कसरी काम गर्छ?

अर्कोतर्फ, केहि  मानिसहरूले "मेटा" भन्ने नाम सुनेका भए पनि यसको वास्तविक अर्थ सबैलाई थाहा नहुन सक्छ। के फेसबुक र मेटा एउटै हुन्? कि फरक?

वास्तवमा, मेटा एउटा प्रविधि कम्पनी हो, जसअन्तर्गत फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, व्हाट्सएप , Horizon Worlds , Meta Quest लगायतका विभिन्न सामाजिक सञ्जाल तथा Metaverse platforms हरु सञ्चालन हुन्छन्।  फेसबुक पनि  मेटाको एउटा माध्यम मात्र हो।

यस लेखमा हामी मेटा भनेको के हो, Facebook Boost के हो, यसको महत्त्व के छ, कसरी प्रयोग गर्ने, यसले व्यवसाय तथा सामग्री सिर्जनाकर्तालाई कसरी फाइदा पुर्‍याउँछ भन्ने विषयलाई सरल भाषामा बुझ्नेछौँ।

Facebook Boost भनेको तपाईंको पोस्टलाई थोरै पैसा तिरेर धेरै मानिससम्म पुर्‍याउने सुविधा हो।

Facebook Boost किन गरिन्छ?

·        धेरै मानिससम्म पुर्याएर बिक्रि बढाउन

·        पेज फलोअरहरू र व्यवसाय बढाउन

·        Product वा service प्रचार गर्न

·        तपाईंको वेबसाइटमा धेरै मानिसहरू ल्याउन

·        पोस्टमा लाइक , कमेन्ट, सेयर बढाउन

उदाहरण: यदि तपाईंले एउटा पोस्ट हाल्नुभयो:हाम्रो नयाँ कपडाको collection आएको छ ।”अब तपाईंले Boost गर्नुभयो भने:  फेसबुकले त्यो पोस्ट धेरै मानिसहरूको Feed मा देखाउँछ, जसले तपाईंको बिजनेसलाई नयाँ ग्राहकसम्म पुर्‍याउँन मद्त गर्छ।

Meta Ads भनेको Meta Platform मार्फत बनाइने र व्यवस्थापन गरिने paid विज्ञापनहरू हुन्। यी विज्ञापनहरूले व्यवसायलाई आफ्नो उत्पादन, सेवा, वेबबसाइट वा सामग्री प्रवर्द्धन गर्न मद्दत गर्दछन्। मेटाले आफ्नो एपहरू—Facebook, Instagram, Messenger WhatsApp—मार्फत विज्ञापन देखाउँछ।

Meta मा ६ वटा मुख्य campaign उद्देश्यहरू हुन्छन्, जसले तपाईंको विज्ञापनको लक्ष्य निर्धारण गर्छ। हामीले  मेटा विज्ञापन प्रबन्धक (Meta Ads Manager) मा अभियान (Campaign) बनाउँदा पहिले आफ्नो लक्ष्य छनोट गर्नुपर्छ, जसले एल्गोरिदम (Algorithm) लाई प्रशिक्षित गर्छ:

६ वटा मुख्य campaign उद्देश्यहरू

१. सचेतना (Awareness): धेरै मानिससम्म पुग्न, ब्रान्डको पहिचान (Brand Awareness) बढाउन तथा भिडियोको हेराइ (Video Views) बढाउन यो उद्देश्य (Objective) चयन गरिन्छ।

२. ट्राफिक (Traffic): वेबसाइट, ल्यान्डिङ पेज, एप, फेसबुक वा इन्स्टाग्राम प्रोफाइलमा धेरै आगन्तुक (Visitors) ल्याउन, लिङ्क क्लिक, प्रोफाइल भिसिट , सन्देश तथा कल बढाउन ।
३. संलग्नता (Engagement): पोस्टमा लाइक, लाइक , कमेन्ट, सेयर , प्रतिक्रिया (Reactions), भिडियो अवलोकन, पेज फलो बढाउन।
४. लिडहरू (Leads): सम्भावित ग्राहकबाट सम्पर्क विवरण (जस्तै: नाम, इमेल, फोन नम्बर) सङ्कलन गर्न, सम्पर्क फाराम भराउन, सन्देश प्राप्त गर्न वा फोन कलमार्फत नयाँ ग्राहक  प्राप्त गर्न।

५. एप प्रवर्द्धन (App Promotion): मोबाइल एपको डाउनलोड संख्या बढाउन, नयाँ प्रयोगकर्ता आकर्षित गर्न तथा एपको प्रयोग (App Engagement) बढाउन।

६. बिक्री (Sales): अनलाइन वा अफलाइन उत्पादन तथा सेवाको बिक्री बढाउन, खरिद (Purchases), रूपान्तरण (Conversions) र ग्राहकबाट हुने आय (Revenue) वृद्धि गर्न।

Meta Ads का प्रकारहरू

१. तस्बिर विज्ञापन

तस्बिर विज्ञापन सरल र सबैभन्दा धेरै प्रयोग हुने विज्ञापनको प्रकार हो। यसमा एउटा आकर्षक तस्बिर, सन्देश, शीर्षक तथा कार्य गर्न प्रेरित गर्ने बटन समावेश हुन्छ। उदाहरणका रूपमा "अहिले खरिद गर्नुहोस्", "थप जानकारी लिनुहोस्" आदि प्रयोग गरिन्छ।

२. भिडियो विज्ञापन

भिडियो विज्ञापन भनेको छोटो भिडियो मार्फत सन्देश प्रवाह गर्ने विज्ञापन हो। यो कथावाचन, उत्पादनको प्रदर्शन, ग्राहकको अनुभव वा प्रतिक्रिया, तथा शैक्षिक वा जानकारीमूलक सामग्री प्रस्तुत गर्न प्रयोग गरिन्छ।

३. बहु–सामग्री विज्ञापन(Carousel Ads)

यस प्रकारको विज्ञापनमा एउटै विज्ञापनभित्र धेरै तस्बिर वा भिडियो समावेश गर्न सकिन्छ। प्रयोगकर्ताले एकपछि अर्को सामग्री सारेर हेर्न सक्छ। यो उत्पादन प्रदर्शन, चरणबद्ध प्रक्रिया देखाउन तथा विभिन्न वस्तु वा सेवाको तुलना गर्न विशेष रूपमा उपयोगी हुन्छ।

४. सङ्कलन विज्ञापन(Collection Ads)

सङ्कलन विज्ञापनमा एउटा मुख्य तस्बिर वा भिडियोसँगै धेरै उत्पादनहरू एउटै विज्ञापनमा आकर्षक रूपमा देखाइन्छ। प्रयोगकर्ताले विज्ञापनभित्रै विभिन्न उत्पादन हेर्न, थप जानकारी लिन तथा सजिलै खरिद प्रक्रियातर्फ जान सक्छ। यो विशेष गरी अनलाइन पसल तथा धेरै उत्पादन भएका व्यवसायका लागि प्रभावकारी हुन्छ।

५. इन्स्ट्यान्ट एक्सपिरियन्स विज्ञापन (Instant Experience Ads)

यो पूर्ण-पर्दा अन्तर्क्रियात्मक (Full-screen interactive) विज्ञापन हो जुन फेसबुक  वा इन्स्टाग्राम मा ट्याप  गरेपछि खुल्छ। पुस्तिका (brochure), कथावाचन ,विस्तृत उत्पादन प्रदर्शन का लागि प्रयोग हुन्छ।

६. स्टोरिज (Stories) र रिल्स विज्ञापन (Reels Ads)

  • स्टोरिज विज्ञापन (Stories Ads): छोटो, पूर्ण-पर्दा (Full-screen) र छिटो देखिने विज्ञापन
  • रिल्स विज्ञापन (Reels Ads): छोटो भिडियो सामग्री बीचमा देखिने विज्ञापन , युवा audience engagement बढाउन धेरै प्रभावकारी

Meta Ads कसरी व्यवस्थापन गर्ने?

चरण १: लक्ष्य निर्धारण गर्नुहोस्

सचेतना , ट्राफिक , लिड्स (Leads), बिक्री आदि मध्ये एक लक्ष्य छनोट गर्नुहोस्।

चरण २: लक्षित दर्शक (Target Audience) चयन गर्नुहोस्

उमेर , लिङ्ग , स्थान , रुचि , व्यवहार अनुसार दर्शक छनोट गर्नुहोस्।

चरण ३: बजेट (Budget) सेट गर्नुहोस्

दैनिक बजेट वा आजीवन बजेट सेट गर्न सकिन्छ।

चरण ४: विज्ञापन प्लेसमेन्ट (Ad Placement) चयन गर्नुहोस्

फेसबुक फिड , इन्स्टाग्राम फिड , स्टोरिज , रिल्स आदि स्थान छनोट गर्न सकिन्छ।

चरण ५: विज्ञापन (Ad) बनाउनुहोस्

तस्बिर/भिडियो , शीर्षक , पाठ र कल-टु-एक्सन (CTA / Call To Action) तयार गर्नुहोस्।

चरण ६: प्रकाशन (Publish) र अनुगमन (Monitor) गर्नुहोस्

क्लिक-थ्रु रेट (CTR), कस्ट-पर-क्लिक (CPC), रूपान्तरण (Conversion), संलग्नता (Engagement) आदि ट्र्याक (Track) गर्नुहोस्।

मुख्य Metrics (Performance Indicators)

Reach

कति मानिससम्म पुग्यो

Impressions

कति पटक देखियो

CTR

क्लिक गर्ने प्रतिशत

CPC

प्रति क्लिक लागत

Conversion Rate

action पूरा गर्ने प्रतिशत

ROAS

विज्ञापनबाट आएको आम्दानी

Engagement rate

पोस्टमा कति कमेन्ट,शेयर , भिडियो views आयो

Frequency

एउटै व्यक्तिले कति पटक देख्यो

 

 

विज्ञापन, फेसबुक विज्ञापन, मेटा विज्ञापन र गुगल विज्ञापनबीचको फरक

१. विज्ञापन

विज्ञापन भन्नाले कुनै पनि वस्तु, सेवा वा व्यवसायको प्रचारप्रसार गर्नका लागि गरिने सबै प्रकारका सशुल्क प्रचारलाई जनाउँछ। यो टेलिभिजन, पत्रपत्रिका, होर्डिङ बोर्ड, रेडियो, अनलाइन माध्यम तथा अन्य विभिन्न सञ्चार माध्यममा गर्न सकिन्छ।

२. फेसबुक विज्ञापन

फेसबुक विज्ञापन भनेको फेसबुक माध्यमभित्र देखाइने सशुल्क विज्ञापन हो। यसको मुख्य उद्देश्य प्रयोगकर्तासँग मन पराउने, प्रतिक्रिया दिने, साझा गर्ने जस्ता सामाजिक सहभागिता बढाउनु हो।

३. मेटा विज्ञापन

मेटा विज्ञापन फेसबुक विज्ञापनको अझ उन्नत स्वरूप हो, जसअन्तर्गत फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा मेटाका अन्य माध्यमहरू समावेश हुन्छन्। यो ब्रान्डको पहिचान बढाउन, ग्राहकको संलग्नता वृद्धि गर्न तथा दृश्य सामग्री प्रभावकारी रूपमा प्रस्तुत गर्न विशेष रूपमा उपयोगी हुन्छ।

४. गुगल विज्ञापन

गुगल विज्ञापन भनेको गुगलको खोज प्रणाली तथा विभिन्न वेबसाइटहरूमा देखाइने सशुल्क विज्ञापन हो। यसले कुनै वस्तु वा सेवाको खोजी गरिरहेका सम्भावित ग्राहकलाई लक्षित गर्ने भएकाले खरिद गर्न इच्छुक व्यक्तिसम्म पुग्न प्रभावकारी मानिन्छ।

Facebook Boostले कसरी व्यवसाय र बिक्रि बढाउन मद्दत गर्छ?

Facebook Boost भनेको फेसबुक पोस्टलाई पैसा तिरेर धेरै मानिससम्म पुर्‍याउने सजिलो विज्ञापन सुविधा हो। सामान्य पोस्ट प्रायः आफ्ना फलोअर वा पेज लाइक गर्ने व्यक्तिहरूले मात्र देख्छन्, तर Boost Post गरेपछि तपाईंको पोस्ट तपाईंको व्यवसायमा रुचि राख्ने नयाँ सम्भावित ग्राहकहरूसम्म पनि पुग्छ।

१. धेरै ग्राहकसम्म पुग्न मद्दत गर्छ

Facebook Boostले तपाईंको पोस्टलाई हालका फलोअरहरू मात्र होइन, हजारौं नयाँ सम्भावित ग्राहकहरूसम्म पुर्‍याउँछ। यसले व्यवसायको पहुँच (Reach) र ब्रान्डको पहिचान बढाउँछ।

२. सही ग्राहकलाई लक्षित गर्न सकिन्छ

फेसबुकले विज्ञापन कसलाई देखाउने भन्ने छनोट गर्न अनुमति दिन्छ। उदाहरणका लागि: स्थान ,उमेर , लिङ्ग व्यवहार ।

यसले तपाईंको उत्पादन वा सेवामा रुचि हुने व्यक्तिहरूसम्म मात्र विज्ञापन पुर्‍याउन मद्दत गर्छ।

३. वेबसाइटमा धेरै आगन्तुक ल्याउँछ

विज्ञापनमा "थप जान्नुहोस् (Learn More)", "अहिले किनमेल गर्नुहोस् (Shop Now)", वा "वेबसाइट हेर्नुहोस् (Visit Website)" जस्ता बटन राख्न सकिन्छ। यसले ग्राहकलाई तपाईंको वेबसाइट वा अनलाइन स्टोरमा लैजान मद्दत गर्छ।

४. सम्भावित ग्राहक (Leads) बढाउँछ

ग्राहकलाई सन्देश (Message) पठाउन, फोन गर्न वा सम्पर्क फारम भर्न प्रोत्साहित गर्न सकिन्छ।

यसबाट भविष्यका ग्राहकहरूको सूची तयार गर्न सजिलो हुन्छ।

५. बिक्री (Sales) बढाउन सहयोग गर्छ

धेरै मानिसले उत्पादन वा सेवा देखेपछि सोधपुछ, अर्डर तथा खरिद गर्ने सम्भावना बढ्छ। यसले व्यवसायको बिक्री वृद्धि गर्न सहयोग पुर्‍याउँछ।

६. ग्राहकको सहभागिता बढाउँछ

बुस्ट गरिएको पोस्टमा लाइक ,कमेन्ट , सेयर र प्रतिक्रिया बढाउँन मद्त गर्छ

यसले ग्राहकसँगको सम्बन्ध बलियो बनाउँछ र व्यवसायप्रति विश्वास बढाउँछ।

७. विशेष अफर वा नयाँ उत्पादन प्रचार गर्न सजिलो हुन्छ

छुट (Discount), नयाँ उत्पादन, नयाँ सेवा, विशेष कार्यक्रम वा चाडपर्वका अफरहरू धेरै मानिससम्म छिटो पुर्‍याउन सकिन्छ।

८. कम बजेटमै विज्ञापन गर्न सकिन्छ

फेसबुक बुस्टको बजेट व्यवसायीले आफैँ निर्धारण गर्न सक्छ। सानो बजेटबाट पनि विज्ञापन सुरु गर्न सकिने भएकाले साना तथा मध्यम व्यवसायका लागि यो निकै उपयुक्त विकल्प हो।

९. विज्ञापनको नतिजा मापन गर्न सकिन्छ

फेसबुकले विज्ञापनको प्रदर्शनसम्बन्धी विभिन्न तथ्याङ्क उपलब्ध गराउँछ, जस्तै: पहुँच (Reach) प्रदर्शन संख्या (Impressions), क्लिक दर (CTR) आदि यी तथ्याङ्कको विश्लेषण गरेर भविष्यका विज्ञापनलाई अझ प्रभावकारी बनाउन सकिन्छ।

उदाहरण : मानौँ, एउटा कपडा पसलले २०% छुट सम्बन्धी पोस्ट प्रकाशित गर्‍यो।

  • बुस्ट नगरी पोस्ट गर्दा: पोस्ट करिब ५०० जना फलोअरले (followers)मात्र देखे।
  • बुस्ट गरेपछि: १८–३५ वर्ष उमेरका, फेसनमा रुचि भएका र पसल नजिक बस्ने १०,००० भन्दा बढी सम्भावित ग्राहकसम्म पोस्ट पुग्यो। परिणामस्वरूप वेबसाइटमा आगन्तुक बढे, धेरै सन्देश आए र बिक्री पनि बढ्यो।

निष्कर्ष

मेटा विज्ञापन, फेसबुक विज्ञापन र गुगल विज्ञापन जस्ता अनलाइन विज्ञापन माध्यमहरू आधुनिक व्यवसायको विकासका लागि अत्यन्त महत्त्वपूर्ण छन्। यी माध्यमहरूले व्यवसायलाई ब्रान्डको पहिचान बढाउन, सही ग्राहकसम्म पुग्न, सम्भावित ग्राहक प्राप्त गर्न, ग्राहकको संलग्नता सुधार गर्न तथा बिक्री वृद्धि गर्न सहयोग गर्छन्।

मेटा विज्ञापनले सामाजिक सहभागितामा विशेष ध्यान दिन्छ भने गुगल विज्ञापनले कुनै वस्तु वा सेवाको खोजी गरिरहेका सम्भावित ग्राहकलाई लक्षित गर्छ। सही रणनीतिका साथ प्रयोग गर्दा अनलाइन विज्ञापन व्यवसायलाई दीर्घकालीन सफलता दिलाउने एक शक्तिशाली माध्यम बन्न सक्छ।